आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिताको मस्यौदा तयार गरी सार्वजनिक गरेको छ। आयोगले बिहीबार “निर्वाचन आचारसंहिता, २०८२” को मस्यौदा सार्वजनिक गर्दै विभिन्न पक्षबाट राय र सुझाव मागेको हो।
आयोगका अनुसार प्राप्त हुने सुझावका आधारमा मस्यौदामा आवश्यक परिमार्जन गरेर अन्तिम आचारसंहिता स्वीकृत गरिनेछ। आयोगले निर्वाचन प्रक्रियामा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता र भयमुक्त वातावरण कायम राख्ने उद्देश्यले आचारसंहिता तयार गरिएको स्पष्ट पारेको छ।
मस्यौदामा उल्लेख अनुसार, आचारसंहिताको तयारी निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ मा भएको कानुनी व्यवस्थाको आधारमा गरिएको हो।
आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन तोकिएको छ। आयोगले परम्पराअनुसार चुनाव मिति तय भएको ४५ दिनअघि नै आचारसंहिता लागू गर्ने तयारी गरिरहेको छ।