प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अवहेलनाको रिट दर्ता

  • प्रकाशित मिति : २०८२ मंसिर १, सोमबार
  • नेपाल टेल संवाददाता

राजदूत फिर्ता बोलाउने सरकारी निर्णय यथास्थितिमा राख्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश पालना नगरेको आरोपमा प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ। सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश समेत रहेकी कार्कीविरुद्ध दायर भएको यो पहिलो रिट हो।

अधिवक्ता प्रेम सिलवालद्वारा दायर उक्त रिटको पेसी मंसिर ७ गतेका लागि तोकिएको छ।



जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारले अघिल्लो सरकारले नियुक्त गरेका ११ देशका राजदूतहरूलाई असोज ३० गते फिर्ता बोलाउने निर्णय गरेको थियो। सो निर्णयविरुद्ध परेको रिटमा न्यायाधीश सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले कात्तिक १६ मा निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको थियो।

तर आदेश जारी भएको भोलिपल्टै प्रधानमन्त्री कार्कीले नेतृत्व गरेको परराष्ट्र मन्त्रालयले राजदूतहरूलाई मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको बताइएको छ। मन्त्रालयको निर्देशनपछि राजदूतहरू फिर्ता बोलाई हाजिर गराइएका थिए, जसले सर्वोच्च आदेश अवहेलनाको मुद्दा दर्ता हुने अवस्था सिर्जना भएको हो।