सुप्रिम सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीको निवेदनमाथि आज पेसी तोकिएको भए पनि सुनुवाइ स्थगित भएको छ।
लामिछानेले बिगो बुझाई थुनाबाहिर बस्दै मुद्दा लड्न पाउने माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए। तर, रविसँगै पाटन उच्च अदालतमा पनि मुद्दा परेकाले बुटवल इजलासमा सुनुवाइ स्थगित गरिएको जिल्ला अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिएका छन्।
यसअघि कात्तिक २७ गते न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले सर्वोच्च अदालतमा रहेको मूल अभियोगको मिसिल माग्ने आदेश दिएको थियो। सर्वोच्चबाट सुरु मिसिलको फाइल प्राप्त नभए पनि जिल्ला अदालतबाट प्रतिलिपि आएपछि बिहीबारको पेसी तोकिएको थियो।
सुप्रिम सहकारी ठगी मुद्दामा लामिछानेले आफ्नो भागको बिगो रकम २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानतमा पेस गरिसकेका छन्। जोशीले पनि समान रकम पेस गरेका थिए। दुवै प्रतिवादीको व्यक्तिगत बिगो निर्धारण नभएपछि रिहा हुन नपाएको अदालतले जनाएको छ।
हाल लामिछाने नख्खु कारागारमा र जोशी भैरहवा कारागारमा रहेका छन्। अदालतले दुवैको मुद्दालाई एउटै प्रकृतिको भएकोले एकसाथ अघि बढाउने आदेश दिइसकेको छ।