सपना प्रधानको अभिव्यक्तिमाथि रवि लामिछानेको आपत्ति

  • प्रकाशित मिति : २०८३ बैशाख २७, आईतवार
  • नेपाल टेल संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कायममुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले कानुन दिवसमा दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन् । रास्वपाका सांसदहरूको दुई दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानन्यायाधीश सिफारिस प्रक्रियामाथि उठाइएको प्रश्नको प्रतिवाद गरेका हुन् ।

प्रधानन्यायाधीश नियुक्तिमा वरिष्ठताको परम्परा तोडिएको भन्दै भएको आलोचनाप्रति प्रतिक्रिया दिँदै लामिछानेले भने, “यदि वरिष्ठतम् न्यायाधीशलाई स्वतः प्रधानन्यायाधीश बनाउने हो भने संवैधानिक परिषद् नै किन चाहियो ?”



उनले ६ जना न्यायाधीशको नाम सिफारिस गरिएको प्रक्रियालाई संवैधानिक व्यवस्थाअनुसारकै भएको दाबी गरे । परम्परा नतोडिएको भए आज पनि भागबन्डा र शक्ति सन्तुलनकै राजनीति चलिरहने टिप्पणी उनले गरे ।

“दुई तिहाइको डरमा न्याय सम्भव छैन भन्ने कुरा उठाइएको छ,” उनले भने, “मेरो रिस गर्नुहुन्छ भने मेरो गर्दन त्यहीँ छ, हतियार चलाइदिनुस् । तर आम नागरिकले कसरी न्याय पाउँछन् भन्ने मुख्य विषय हुनुपर्छ ।”

लामिछानेले न्यायालयसम्बन्धी विषयमा अनावश्यक टिप्पणी गरेर “जगहँसाइँ” नगर्न पनि आग्रह गरे । उनले सुकुम्बासी समस्याको प्रसंग जोड्दै भूमिहीन नागरिकले अधिकार नपाएसम्म आफूले “छाती थापिरहने” दाबी दोहोर्‍याए ।