एमाले युवा प्रदर्शनमा महेश बस्नेतको चेतावनी: जेनजीको नाममा जहाँ अवरोध त्यहाँ प्रतिरोध

  • प्रकाशित मिति : २०८२ मंसिर ५, शुक्रबार
  • नेपाल टेल संवाददाता

एमाले नेता महेश बस्नेतले जेनजी आन्दोलनको नाममा आफ्नो गतिविधिमा अवरोध पुर्‍याउनेहरूप्रति कडा चेतावनी दिएका छन्। एमालेको युवा दस्ता ‘युथ भोलेन्टियर फोर्स’ घोषणा अघि शुक्रबार बबरमहलमा आयोजित युवाहरूको प्रदर्शनको नेतृत्व गर्दै उनले अवरोध हुने ठाउँ–ठाउँमा प्रतिरोध गर्ने बताएका हुन्।

बस्नेतका अनुसार वास्तविक जेनजीहरूका माग सम्बोधन गर्ने काम एमालेले नै गरिरहेको छ। उनले जेनजी आन्दोलनका घाइते र शहीदलाई न्याय दिन प्रतिनिधिसभा पुनर्स्थापना आवश्यक रहेको दाबी गरे।



उनले भने, “जेनजीको नाममा जहाँ अवरोध, त्यहाँ प्रतिरोध हुन्छ। जेनजीहरूसँग हामी निरन्तर सम्पर्कमै छौं। तर उनीहरूको नाम र ब्यानर भजाएर अन्य तत्वहरू पनि सक्रिय छन्।”

शुक्रबार नै अध्यक्ष केपी शर्मा ओलीले ‘युथ भोलेन्टियर फोर्स’को केन्द्रीय कमाण्ड घोषणा गर्ने तयारी भएको बस्नेतले बताए। स्थानीय तह—पालिका, वडा र टोलस्तरसम्म युवालाई परिचालन गरी आवश्यक परेमा सुरक्षा सहयोग गर्ने फोर्स बनाइने उनले जानकारी दिए।

बस्नेतले विभिन्न पेशागत संस्थासँग सहकार्य गर्दै राष्ट्रिय सम्पत्तिमा तोडफोड र जलाउने गतिविधि गर्नेलाई चुपचाप हेरेर नबस्ने चेतावनी पनि दिए।