जेनजी युवा नेता रक्षा बमद्वारा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवलाई पदमुक्त गर्न माग

  • प्रकाशित मिति : २०८२ मंसिर ८, सोमबार
  • नेपाल टेल संवाददाता

जेनजी आन्दोलनकी युवा नेता रक्षा बमले प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठलाई तत्काल पदमुक्त गर्न माग गरेकी छन्। उनले श्रेष्ठले आफ्ना परिवारका सदस्य र नातेदारलाई प्रधानमन्त्रीको सचिवालयमा नियुक्ति दिलाएको जानकारी सार्वजनिक भएपछि यस्तो माग गरेकी हुन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै बमले भनेकी छन्—’संवेदनशील परिस्थितिमा बनेको सरकारको फाइदा उठाई नातावाद–कृपावादलाई हाबी गराउने प्रयास परिवर्तनका लागि बगेको रगतको अपमान हो।’



उनका अनुसार जेनजी विद्रोह केवल आर्थिक भ्रष्टाचार होइन, नैतिक भ्रष्टाचार, नातावाद र कृपावादविरुद्ध पनि थियो। उनले लेखेकी छन्, ‘भदौ २३ मा हामीले सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि आवाज उठाएका थियौँ। तर नागरिक सरकारका प्रमुख स्वकीय सचिवले श्रीमतीसहित नातेदारलाई जागिर लगाउनु नैतिक भ्रष्टाचारको उदाहरण हो।’

उनले सरकारलाई बेलैमा सचेत हुन पनि आग्रह गरेकी छन्।