नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ गतेसम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ। सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको कार्यतालिका पारित गर्दै वर्तमान कार्यसमितिको कार्यकाल माघसम्म थप गर्ने निर्णय पनि गरेको हो।
बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेको कार्यतालिका अनुसार कांग्रेसले पुस १६ गते वडा अधिवेशन, पुस १७ गते गाउँ तथा नगर अधिवेशन र पुस १९ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन गर्नेछ।
यस्तै, एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा पुस २१ मा जिल्लास्तरीय अधिवेशन हुने छ भने एकभन्दा धेरै निर्वाचन क्षेत्र भएका जिल्लामा पुस २२ गते जिल्ला अधिवेशन गर्ने तयारी छ।
कांग्रेसको प्रदेश अधिवेशन पुस २२ र २३ गते सम्पन्न गर्ने कार्यसूचीबारे पनि कार्यवाहक सभापति खड्काले बैठकमा जानकारी गराएका छन्।