११४ दललाई निर्वाचन चिन्ह प्रदानः एमालेको ‘सूर्य’ पहिलो, जलोपाको ‘भैँसी’ अन्तिम

  • प्रकाशित मिति : २०८२ मंसिर २२, सोमबार
  • नेपाल टेल संवाददाता

निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता भएका १ सय १४ राजनीतिक दललाई निर्वाचन चिन्ह वितरण गरेको छ। दल दर्ता तथा उम्मेदवारी प्रक्रियामा प्राप्त निवेदनहरूको छानबिन गरेपछि आयोगले योग्य ठहरिएका दलहरूलाई चिन्ह प्रदान गरेको हो।

आयोगका अनुसार हालसम्म १ सय ४३ दल दर्ता छन्। तर, चुनावमा सहभागी हुन १ सय २० दलले निवेदन दिएका थिए। छानबिनपछि १ सय १४ दल मात्रै प्रतिस्पर्धाका लागि योग्य देखिएका छन्।



१ सय २ दल आफ्नै चिन्हमा, १२ दल संयुक्त चिन्हमा

आगामी निर्वाचनमा १ सय २ दलले आफ्नै पार्टीको चिन्ह लिएर प्रतिस्पर्धा गर्नेछन्। पाँच समूहमा रहेका १२ दल भने संयुक्त (एकल) चिन्ह लिएर चुनाव मैदानमा उत्रिनेछन्।

यसपटकको मतपत्रमा कुल १ सय ७ वटा निर्वाचन चिन्ह रहने आयोगले जनाएको छ। निवेदन दिएका मध्ये १३ दलका निवेदन विभिन्न कारणले खारेज वा फिर्ता भएका छन्।

प्रमुख ११ दलका निर्वाचन चिन्हः

२०७९ को समानुपातिक निर्वाचनमा प्राप्त मतका आधारमा ११ दलको क्रमसंख्या स्वचालित रूपमा तोकिएको छः
१. नेकपा (एमाले) – सूर्य
२. नेपाली काँग्रेस – रूख
३. नेकपा – पाँचकुने तारा
४. राष्ट्रिय स्वतन्त्र पार्टी – घण्टी
५. राप्रपा – हलो
६. जसपा – ढल्केको छाता
७. जनमत पार्टी – लाउडस्पिकर
८. नागरिक उन्मुक्ति पार्टी – ढकिया
९. लोसपा – साइकल
१०. नेपाल मजदुर किसान पार्टी – मादल
११. राष्ट्रिय जनमोर्चा – गिलास

नयाँ दलका चिन्ह १२ नम्बरदेखि

१२ नम्बरमा देश विकास पार्टीको लौरो, १३ नम्बरमा प्रगतिशील लोकतान्त्रिक पार्टीको खुलेको आँखा राखिएको छ।

नयाँ र चर्चित दलहरूमध्येः

-३३ नम्बरमा जेनजी आन्दोलनका राजेश पोर्तेल नेतृत्वको राष्ट्रिय परिवर्तन पार्टी – बासुरी

-५१ नम्बरमा हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टी – अँजुलीमा माटो

-६४ नम्बरमा कुलमान घिसिंग संरक्षक रहेको उज्यालो नेपाल पार्टी – बलिरहेको बिजुलीको चिम

-९१ नम्बरमा पूर्व प्रहरी महानिरीक्षक सवेन्द्र खनाल नेतृत्वको समुन्नत नेपाल पार्टी – हात मिलाएको महिला–पुरुष (समानता)

-१०० नम्बरमा खगेन्द्र सुनार नेतृत्वको हाम्रो नेपाल पार्टी – गोलाकारभित्र लाइक चिन्ह

-१ सय ७ नम्बरमा जनता लोकतान्त्रिक पार्टी नेपाल – भैँसी

२ दलको निवेदन खारेज, १ दलले निवेदन फिर्ता

आयोगमा निवेदन दिएका दलमध्ये २ दलको निवेदन खारेज भएको छ। जनप्रजातान्त्रिक पार्टीको केन्द्रीय समितिको निर्णय वैध नदेखिएको र अखण्ड सुदूरपश्चिम पार्टीले आयोगले लगाएको जरिवाना नतिरेकाले उनीहरूको निवेदन खारेज गरिएको हो।

त्यस्तै, जनजागरण पार्टीले भने निर्वाचनमा भाग नलिने निर्णय गर्दै निवेदन फिर्ता लिएको आयोगले जनाएको छ। यससँगै फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधि सभा निर्वाचनमा १ सय १४ दल प्रतिस्पर्धामा रहनेछन्।