पुनर्निर्माणका लागि बन्द हायात रिजेन्सीले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम पारिश्रमिक दिने

  • प्रकाशित मिति : २०८२ मंसिर २६, शुक्रबार
  • नेपाल टेल संवाददाता

बौद्धस्थित हायात रिजेन्सी होटल र कर्मचारीबीच होटल पुनःनिर्माण अवधिभरका लागि एक वर्षसम्म न्यूनतम आधारभूत पारिश्रमिक उपलब्ध गराउने विषयमा सहमति भएको छ।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा होटलमा तोडफोड, आगजनी र लुटपाट भएपछि होटल हाल बन्द छ।



होटल पुनःनिर्माणका लागि कम्तीमा एक वर्ष लाग्ने भन्दै होटल व्यवस्थापनले कर्मचारीका प्रतिनिधिसँग छलफल गरी सहमति गरेको जनाएको छ। “आन्दोलनका क्रममा भएको तोडफोडका कारण ठूलो आर्थिक तथा भौतिक क्षति पुगेको छ। पूर्णरूपमा मर्मत सम्भार नगरी होटल सञ्चालन हुने अवस्था छैन,” होटल व्यवस्थापनले भनेको छ।

सहमतिअनुसार होटलले कर्मचारीलाई एक वर्षसम्म नेपाल सरकारले निर्धारण गरेको न्यूनतम आधारभूत पारिश्रमिक उपलब्ध गराउनेछ र सामाजिक सुरक्षा कोषमा पनि सोही अनुपातमा योगदान गर्नेछ। यसले कर्मचारीको रोजिरोटी तथा रोजगारीको सुरक्षा हुने होटलले जनाएको छ।

मर्मत–सम्भार पूरा भएपछि सहमतिमा बस्ने कर्मचारीलाई पुनः रोजगारीमा फर्काइने होटलले जनाएको छ। सहमतिमा अधिकांश कर्मचारी सकारात्मक रहेका छन् ।

सहमतिमा नआउने कर्मचारीको हकमा भने श्रमिक कटौतीको प्रक्रिया अपनाइने होटलले स्पष्ट गरेको छ।