नवनियुक्त चार जना मन्त्रीले राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ मन्त्रीहरूलाई शपथ गराएका हुन् ।
यसअघि प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले कुमार इङ्नाम, राजेन्द्रसिंह भण्डारी, माधव चौलागाईं र श्रद्धा श्रेष्ठलाई मन्त्रिपरिषद्मा नियुक्त गरेका थिए ।
इङ्नामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, चौलागाईंलाई वन तथा वातावरण तथा श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ ।
चार मन्त्री थपिएसँगै मन्त्रिपरिषद् अब १४ सदस्यीय बनेको छ ।
शीतल निवासमा आयोजित शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललगायतका विशिष्ट अतिथिहरू उपस्थित थिए ।