नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले आज शपथ लिएका छन्।
शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। प्रधानमन्त्री सुशीला कार्कीले आजै पूर्वरथी शर्मालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी थिइन्। शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, मन्त्रीहरूलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।
शपथपछि मन्त्री शर्मा आजै परराष्ट्र मन्त्रालयको पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ।
को हुन् बालानन्द शर्मा ?
नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा माओवादी लडाकु समायोजन प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेका व्यक्तिका रूपमा चिनिन्छन्। उनी सेना समायोजन विशेष समिति सचिवालयका संयोजकसमेत बनेका थिए।
राजनीतिक दबाबका बीच करिब ३० हजार माओवादी लडाकुबाट संख्या घटाएर करिब १५ सयभन्दा कमलाई मात्र नेपाली सेनामा समायोजन गर्ने र बाँकीलाई स्वेच्छिक अवकासमार्फत निश्चित रकमसहित घर फर्काउने प्रक्रियाको कुशल डिजाइनरका रूपमा शर्मालाई लिइन्छ।
प्रधानमन्त्रीको नेतृत्वमा रहेको सेना समायोजन विशेष समितिको सचिवालय संयोजकको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका शर्मालाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले कोभिड–१९ निर्देशक समितिअन्तर्गत कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को प्रमुखको जिम्मेवारीसमेत दिएको थियो।