सञ्चारमाध्यममार्फत चुनावी प्रचारमा आयोगले तोक्यो स्पष्ट सीमा

  • प्रकाशित मिति : २०८२ पुष १४, सोमबार
  • नेपाल टेल संवाददाता

फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारहरूका लागि सञ्चारमाध्यममार्फत चुनावी प्रचार–प्रसार गर्न सकिने स्पष्ट प्रावधानसहित ‘निर्वाचन आचारसंहिता, २०८२’ जारी गरेको छ।

आचारसंहिताअनुसार राजनीतिक दलले टेलिभिजन, रेडियो वा एफएम रेडियोमार्फत निर्वाचन प्रचार–प्रसार गर्दा २४ घण्टामा कम्तीमा एक घण्टाको अन्तराल राखी बढीमा चार पटकसम्म विज्ञापन प्रसारण गर्न पाउने छन्। एक पटकमा विज्ञापनको समय भने अधिकतम एक मिनेटसम्म मात्रै हुनुपर्ने व्यवस्था गरिएको छ।



पत्रपत्रिकामार्फत प्रचार गर्दा भने दल र उम्मेदवारले प्रत्येक दिन कुनै एक पत्रिकामा मात्र बढीमा चार कोलम × २५ सेन्टिमिटर उचाइसम्मको आकारमा प्रचार सामग्री प्रकाशन गर्न सक्ने छन्। यही व्यवस्था पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारहरूका हकमा पनि लागू हुनेछ।

अनलाइन सञ्चारमाध्यममार्फत हुने प्रचार–प्रसारका हकमा आयोगले थप स्पष्ट मापदण्ड तोकेको छ। सूचना तथा प्रसारण विभागमा दर्ता भई प्रेस काउन्सिल नेपालमा सूचिकृत अनलाइन सञ्चारमाध्यममार्फत मात्र प्रचार–प्रसार गर्न पाइने व्यवस्था गरिएको छ। राजनीतिक दल वा उम्मेदवारले एक मिनेटसम्मको श्रव्यदृश्य सामग्री अनलाइनमार्फत प्रकाशन वा प्रसारण गराउन सक्ने छन्।

आचारसंहितामा अनलाइन माध्यमबाट रोडब्लक, कन्टेन्ट ब्लक, होमपेज ब्यानर, डिटेल पेज ब्यानर, समाचारबीच आउने बक्स विज्ञापनजस्ता माध्यम प्रयोग गरी चुनावी प्रचार गर्न सकिने उल्लेख छ। तर, त्यस्ता सामग्रीमा अनिवार्य रूपमा ‘सःशुल्क विज्ञापन’ भएको जनाउ दिनुपर्नेछ।

आयोगले अनलाइन प्रचार सामग्रीमा गालीगलौज, मिथ्या सूचना, दुष्प्रचार तथा द्वेषपूर्ण अभिव्यक्ति समावेश गर्न नपाइने स्पष्ट गरेको छ। साथै, अनलाइन, छापा तथा विद्युतीय माध्यमबाट गरिएको सम्पूर्ण चुनावी प्रचार–प्रसारमा लागेको खर्च प्रचलित कानुनबमोजिम निर्वाचन खर्च विवरणमा समावेश गर्नुपर्नेछ।

विदेशी सञ्चारमाध्यममार्फत निर्वाचनसम्बन्धी प्रचार सामग्री प्रकाशन वा प्रसारण गर्न तथा गराउन नपाइने व्यवस्था पनि आचारसंहितामा समेटिएको छ। आयोगले तोकेका यी मापदण्डको पालना नगरे कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत दिएको छ।