राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हिजो टीकापुर हत्याकाण्डलाई राजनीतिक सम्झौता गरेपछि सभापति रवि लामिछानेको पुरानो अभिव्यक्ति भाइरल भएको छ । उनले सञ्चारकर्मी छँदा टेलिभिजनमा बोल्दै टीकापुर हत्याकाण्डलाई जघन्य अपराधको रूपमा चित्रण गरेका थिए ।
टीकापुर हत्याकाण्डका एक अभियुक्त लक्ष्मण थारु लगायत केही थरुहट नेतालाई पार्टी प्रवेश गराउने क्रममा रास्वपाले उक्त सम्झौता गरेको हो । सञ्चारकर्मीका रूपमा रविले बोलेका कुरा र हिजो गरेको सम्झौताका शब्दहरू ठ्याक्कै विपरीत दिशामा छन् ।
सम्झौताको पाँचौं बुँदामा लेखिएको छ, ‘टीकापुर घटनालाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार्दै राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार निर्माण भएपछि शान्ति सुरक्षा-सुरक्षासँग सम्बन्धित सबै उच्च स्तरीय आयोगका सिफारिसहरूको उचित कार्यान्वयन गर्ने ।’
टीकापुर घटना हुँदाका बखत रवि न्यूज २४ च्यानलमा सिधा कुरा जनतासँग कार्यक्रम चलाउँथे । त्यस कार्यक्रममा उनले यो घटनाको निकै कडा शब्दमा भर्त्सना गरेका थिए । टीकापुर काण्डलाई ‘राजनीतिक घटना’ को रूपमा मोड्न खोजिएको भन्दै तीव्र निन्दा गरेका थिए । घटनामा संलग्नहरूलाई उनले दुई कौडीका गुण्डा भनेका थिए ।
रविले बोलेका शब्दहरू जस्ताको त्यस्तैः
पैसा, पावर र स्वार्थका लागि बाबुआमाले छोराछोरीलाई बेच्छन् नि, ठिक त्यस्तै टीकापुर घटनालाई सरकार र मन्त्रिपरिषदले राजनीतिक घटना भन्ने दुस्साहस गर्दैछ रे । सत्ता टिकाउन र भत्ता पचाउन गु र गोबर पनि चिन्न छोड्नुभयो कि क्या हो ? राजनीति र अपराधको परिभाषा थाहा छैन ? राष्ट्रसेवक प्रहरीलाई भाला रोपेर मुटु भेदन गरी बीभत्स हत्या गरियो । सत्य सेवा सुरक्षणम् भन्दै अहोरात्र जनताको जिउधनको सुरक्षा गर्न खटिएका आठ जना राष्ट्रसेवक मारिए ।
भाला रोपेर लखेटी-लखेटी तानेर निर्मम हत्या गरिएका राष्ट्रसेवकको विधवा पत्नी र टुहुरा सन्तानको आँखामा आँखा जुधाएर भन सरकार, टिकापुर घटना राजनीतिक घटना हो ? दुई चार मुस्तन्डे र दुई कौडीका गुण्डा, राजनीतिक दलालहरूको रक्षा गर्न सिङ्गै सुरक्षा बलको मनोबल नगिराऊ सरकार । विदेशी दलाल र दुई कौडीका गुण्डाको रक्षा गर्न जरुरी छैन । राज्यसँग दम छैन भने भनोस्, न्याय प्रेमी जनताले कठालोमा समातेर दुई कौडीका गुण्डालाई अदालतमा उपस्थित गराइदिन्छन् । तर अपराधीलाई राजनीतिक आवरणमा छोपेर मधेस र टिकापुर घटनाका मुद्दाका दोषीको मुद्दा फिर्ता लिने निर्णयमा हस्ताक्षर गर्नु अगाडि तपाईँलाई सुरक्षा दिने राष्ट्रसेवक प्रहरीको आँखामा हेर्नुहोस् । तपाईँलाई २४ घण्टा सुरक्षित राख्ने राष्ट्रसेवकको मनोबल कति माथि हुनुपर्ला ?’
यसरी सरकारलाई लल्कारेका रविले हिजो ठिक उल्टो अभिव्यक्ति दिए । सम्झौतापछि भाषण गर्दै उनले टिकापुर घटनालाई हेर्ने आफ्नो पुरानो दृष्टिकोणप्रति आश्चर्यजनकरुपमा आत्मालोचनासमेत गरे ।
‘मैले पत्रकार छँदा अपर्याप्त सूचनाका आधारमा गरेको टिप्पणीले कसैलाई चोट पुगेको भए माफी चाहन्छु,’ उनले भने ।
रविको यो आत्मालोचनाबाट प्रश्न उठेको छ कि उनले पत्रकार छँदा अपर्याप्त सूचनाकै आधारमा यसरी टेलिभिजनमा फलाक्ने गर्थे ? टिकापुर हत्याकाण्डमा दोषी ठहरिएर ३ वर्ष जेल सजाय काटेका लक्ष्मण थारुलाई पार्टीमा भित्र्याउनकै लागि रविले आफ्नो राजनीतिक इमान बेचेकोप्रति रास्वपाकै नेताहरू आश्चर्यमा छन् ।
पार्टीका एक केन्द्रीय सदस्यले भने, ‘केही व्यक्तिहरूलाई पार्टीमा भित्र्याउनकै लागि एउटा जघन्य अपराधलाई राजनीतिक आन्दोलन मान्न सभापतिज्यू कसरी तयार हुनुभयो, आश्चर्य लागेको छ । यो घोर आपत्तिजनक हो ।’