फागुन २१ गते हुने निर्वाचनको उम्मेदवार छनौटको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी तेह्रथुममा विद्रोह भएको छ ।
पार्टी केन्द्रले जिल्लाको भावना र स्थापित विधिलाई मिचेर अमूक व्यक्तिलाई टिकट दिएको भन्दै रास्वपा जिल्ला कार्यसमिति र सबै पालिका कमिटीका पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् ।

जिल्ला कमिटीले सुरेन्द्र कार्कीलाई उम्मेदवारको रूपमा सिफारिस गरेको थियो । तर जिल्लाको सिफारिस विपरीत रास्वपा केन्द्रीय समितिले ऋतुराज लिम्बुलाई तेह्रथुममा उम्मेदवार बनाउने निर्णय गरेको छ । सो निर्णयको विरोधमा

पार्टीका केन्द्रीय सभापति रवि लामिछानेलाई सम्बोधन गर्दै राजीनामा बुझाइएको छ ।
‘पार्टीले नै पारित गरेको उम्मेदवार छनोट प्रक्रियाभन्दा बाहिर गएर जिल्ला र प्रदेश समितिको भावना विपरीत अमुक व्यक्तिलाई उम्मेदवारको टिकट दिँदा पार्टीको विधिमाथि प्रश्न उठेको छ, राजीनामा पत्रमा भनिएको छ’, यसले तेह्रथुमको जनभावना र राजनीतिक सहमतिमा गम्भीर कुठाराघात गरेको छ।
सामूहिक राजीनामा बुझाउनेहरूमा जिल्ला कार्यसमिति सभापति ई सुमन खत्रीदेखि सबै पालिकाका प्रमुख नेतृत्वहरू रहेका छन्। राजीनामा दिने अन्य पदाधिकारीहरूमा गणेश खापुङ संयोजक, म्याङलुङ नगरपालिका सुमन लिम्बु सभापति, लालीगुराँस नगरपालिका छात्रबहादुर थापा संयोजक, मेन्छ्यायेम गाउँपालिका विष्णु एस कटुवाल ,सचिव, छथर गाउँपालिका लक्ष्मण थापा संयोजक, फेदाप गाउँपालिका रहेका छन् ।
यस्तै चेतन गौतम सभापति, आठराई गाउँपालिका तेह्रथुम–काठमाडौं सम्पर्क विभागका संयोजक गुणनिधि दाहाल सहित जिल्लाका सबै पालिका र वडा कमिटीका पदाधिकारीहरूले पनि पदत्याग गरेका छन्। केन्द्रसँग भएको सहमति कार्यान्वयन गराउन नसकेकोमा नैतिक जिम्मेवारी लिँदै आफूहरूले पद छोडेको उनीहरूले बताएका छन्।