नेपाली कांग्रेसका सभापति गगन थापाको १८ वर्षे संसदीय यात्रामा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का अमरेश कुमार सिंहले ब्रेक लगाएका छन् ।
आइतबार बिहान सम्पन्न सर्लाही–४ को अन्तिम मतपरिणाम अनुसार अमरेशले गगनलाई १२ हजार ८५७ मतान्तरले पराजित गरेका हुन्।
अमरेशले ३५ हजार ६८८ मतले ल्याउँदा गगनले २२ हजार ८३१ मत प्राप्त गरे । गगन २०६४ सालदेखि संसदीय यात्रामा थिए । पहिलोपटक समानुपातिक प्रणालीबाट निर्वाचित उनले पछिल्लो ३ पटक काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट जित निकालेका थिए ।
गगन गत पुसमा भएको कांग्रेसको दोस्रो महाधिवेशनबाट कांग्रेसको सभापतिमा निर्वाचित भएका थिए । कांग्रेसले गगनलाई नै भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको थियो ।
गगन २०५१ सालमा त्रिचन्द्र क्याम्पसबाट स्वतन्त्र विद्यार्थी युनियनमा सदस्य निर्वाचित भएका थिए । २०५५ सालमा सोही क्याम्पसको स्ववियु सभापति निर्वाचित भएका थिए ।
२०५७ सालमा नेपाल विद्यार्थी संघको उपाध्यक्ष हुँदै २०५९ मा महामन्त्री बने । कांग्रेसले आधिकारिक रुपमा स्वीकार गर्नुअघि नै गणतन्त्रको पक्षमा वकालत गरेका उनी २०५९ असोजपछि राजकाज मुद्दामा परेका थिए ।
२०६२–०६३ को आन्दोलनमा गणतन्त्रका पक्षमा खेलेको भूमिकाले थापालाई चर्चित बनायो । अहिले उनले पुस्तान्तरणलाई मुद्दा बनाएका छन् ।
पार्टीको १२ औँ महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित थापा २०७२ सालको १३ औँ महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए । गत वर्षको १४ औँ महाधिवेशनमा शेखर कोइराला समूहबाट महामन्त्रीमा निर्वाचित भएका थापा २०६४ सालको संविधान सभामा समानुपातिकबाट सदस्य बनेका थिए।
दोस्रो संविधान सभामा काठमाडौं ४ बाट जितेका उनी अहिलेसम्म त्यही क्षेत्रबाट अपराजित छन् । २०७० सालमा उनी स्वास्थ्य मन्त्री बनेका थिए ।