रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले चैत १३ गते प्रधानमन्त्रीको कार्यभार सम्हाल्ने भएका छन् ।
नवनिर्वाचित सांसदले शपथ लिएको भोलिपल्ट राष्ट्रपतिसमक्ष शपथ लिएर शाहले प्रधानमन्त्रीको कार्यभार सम्हाल्ने भएका हुन् ।
रास्वपाका शीर्ष नेताबीच सांसदको शपथको भोलिपल्ट प्रधानमन्त्रीले शपथ लिने र सोही दिन मन्त्रिपरिषद्मा सहभागी हुने मन्त्रीलाई पनि शपथ लिन लगाउने समझदारी बनेको रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
प्रधानमन्त्री पदको शपथ सम्बन्धमा राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयसँग परामर्श भएको उनले बताए । १५ देखि १८ मन्त्रालय बनाउने बारेमा पनि रास्वपाका शिर्ष नेताबिच छलफल भएको छ ।
फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य चुनावमा रास्वपाले १८२ सिटमा जित हात पार्दै बहुमत प्राप्त गरेको छ । रास्वपाले चुनावअघि नै बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको थियो । रास्वपाले शाहकै नेतृत्वमा सरकार गठनको तयारी गरेको हो ।