नवनिर्वाचित सांसद बालेन शाहले पुरानो परिपाटी तोड्दै प्रधानमन्त्रीको शपथग्रहणकै दिन पूर्ण आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन्। हालसम्मको अभ्यासअनुसार नयाँ सरकार बनेपछि अधुरो मन्त्रिपरिषद बनाएर चरणबद्ध विस्तार गर्ने चलन थियो, तर बालेनले सानो, छरितो र कार्यक्षम मन्त्रिपरिषदको अवधारणालाई अघि राखेका छन्।
बालेनले मन्त्रालयको संख्या हालका २२ बाट १५ वटामा घटाउने तयारी गरिरहेका छन्। प्रारम्भमा १२ मन्त्रालय मात्रै राख्ने विचार भए पनि टीमसँगको छलफलपछि १५ वटासम्म सीमित गर्ने निर्णय भएको हो। मन्त्रालय गाभ्ने योजना विगतका अध्ययन प्रतिवेदनसँग पनि मेल खान्छ।
मन्त्रीहरूको संख्या १८ हुने तयारी छ। संविधानअनुसार प्रधानमन्त्रीसहित २५ सदस्यीय मन्त्रिपरिषद् बनाउन सकिने भए पनि बालेनले सानो आकारमा दक्षता बढाउने र प्रधानमन्त्री कार्यालयलाई सुदृढ बनाउनेमा जोड दिएका छन्।
प्रारम्भिक रुपमा अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्रीमा शिशिर खनाल लगभग निश्चित भइसकेका छन्। बाँकी मन्त्रीहरूको नाममा प्रारम्भिक खाका तयार भए पनि अन्तिम निर्णय बाँकी रहेको बुझिएको छ।
बालेनले मन्त्री चयन गर्दा योग्यता, क्षमता र नैतिकतालाई प्राथमिकता दिने नीति लिएका छन्। उनले कुनै पनि नाममा व्यक्तिगत वा राजनीतिक दबाब मान्ने छैनन्। रास्वपाको सभापति रवि लामिछानेसँग उच्च स्तरको सहमति भएको छ। समावेशीकरणका लागि जातीय वा लैंगिक आधारभन्दा क्षमता र योग्यता मुख्य आधार रहनेछ।
बालेन शाहले १३ चैतमा प्रधानमन्त्री शपथ ग्रहण गर्ने तय भइसकेको छ। १२ चैतमा सांसदहरूको शपथ र भोलिपल्ट प्रधानमन्त्रीको शपथग्रहण तालिका तय गरिएको छ। शपथ ग्रहणपछि मन्त्रीहरूलाई पनि शपथ गराइएकै दिन सरकार पूर्ण क्षमतामा काम गर्न थाल्नेछ।