लन्डन—बेलायती राजनीतिमा ‘रिफर्म यूके’ को अप्रत्याशित उदयले आप्रवासी समुदायमाझ ठूलो हलचल पैदा गरिदिएको छ ।
नाइजल फराज नेतृत्वको रिफर्म यूके तीव्र दक्षिणपन्थी दल हो । जुन आप्रवासीहरूप्रति निकै अनुदार मानिन्छ ।
स्थानीय चुनावदेखि राष्ट्रिय राजनीतिसम्म आफ्नो प्रभाव तीव्र रूपमा बढाइरहेको रिफर्म यूकेले आप्रवासीको सङ्ख्या घटाउने, सीमामा कडा नियन्त्रण कायम गर्ने, गैरकानुनी आप्रवासी रोक्ने लगायतका नीति अघि सारेको छ ।
पार्टीका नेताहरुले बारम्बार ‘Stop the Boats’ भन्ने नारा दिँदै आएका छन् । रिफर्म यूकेले साना डुंगामार्फत बेलायत पस्ने आप्रवासीमाथि कडा नीति अपनाउनुपर्ने माग गर्दै आएको छ ।
रिफर्म यूकेले अध्यागमनमा कडा नीति प्रस्ताव गरेको छ, जसअन्तर्गत ४ लाख देखि ६ लाख सम्मका मानिसहरूलाई देश निकाला गर्ने र विगत पाँच वर्षमा स्वीकृत भएका शरणार्थी दाबीहरू जालसाजी ठहरिएमा खारेज गर्ने लक्ष्य राखिएको छ ।
अनिश्चितकालीन बसोबासको अनुमति (ILR) खारेज गरी ५ वर्षे भिसा लागू गर्ने, सानो डुङ्गामा आउने र अध्यागमन नियम उल्लंघन गर्ने व्यक्तिहरूलाई निष्कासन, पाँच वर्षमा स्वीकृत सबै शरणार्थी आवेदनहरूको पूर्ण समीक्षा र अवैध रूपमा प्रवेश गरेको पाइएमा उनीहरूको अनुमति खारेज गरी देश निकाला गर्ने, अवैध रूपमा आएका विदेशी नागरिकहरूलाई सरकारी भत्ता वा सामाजिक सुरक्षा सुविधाहरूबाट वञ्चित गर्ने लगायतका प्रस्ताव रिफर्म यूकेले अघि सारेको छ ।
जसका कारण अहिले धेरै आप्रवासी समुदायमा डर र चिन्ता बढेको छ । खासगरी शरणार्थीको मान्यता खोजिरहेका, कागजातविहिन र नयाँ आप्रवासीहरूमा ।
स्थायी बसोबास अनुमति प्राप्त गरेका, वर्क भिसा भएका, स्टुडेन्ट भिसा भएकाहरूलाई तुरुन्तै असर पर्ने अवस्था नभए पनि रिफर्म यूकेको उदयले बेलायतको ठूलो हिस्सा अहिले आप्रवासीप्रति कठोर बन्दै गएको स्पष्ट सन्देश दिएको छ ।
बढ्दो महँगी, बेरोजगारी र हाउजिङ संकटका साथै गैरकानुनी आप्रवासी नियन्त्रण गर्न सरकार असफल भएकाले यस्तो अवस्था आएको हो ।
जसका कारण धेरै ब्रिटिश मतदाताले अहिले परम्परागत लेबर र कन्जरभेटिभ दुवै दलप्रति निराशा देखाउँदै रिफर्म यूकेतर्फ आकर्षित भएका हुन् ।