कारोबार खुलेको डेढ घण्टा नपुग्दै सर्किट ब्रेक, सेयर कारोबार बन्द

  • प्रकाशित मिति : २०७७ असार १७, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । आज पनि ६ प्रतिशतले बजार बढेर ‘पोजिटिभ सर्किट’ लागेपछि कारोबार खुलेको डेढ घण्टा नपुग्दै कारोबार स्थगित गरिएको छ ।

११ बजे खुलेदेखि नै उकालो लागेको बजारमा आज पनि खरिद गर्नेहरुको अत्याधिक चाप बढेसँगै १२ बजेर २४ मिनेट जाँदा बजार ६ प्रतिशतले बढेपछि सर्किट लागेर आजका लागि कारोबार बन्द भएको हो।



हिजो पनि ६ प्रतिशतले बजार बढेर सर्किट लागेपछि बीचमै कारोबार बन्द भएको थियो। बुधबार ७५ अंकले बढेपछि नेप्से १३ सय ३६ अंकमा कायम भएको छ। यस दिन ४० करोड रुपैयाँको सेयर कारोबार भयो। होटल बाहेकका सबै उपसमूहहरु बढेका छन्। होटल ५ दशमलव १५ अंकले घटेको छ ।

३ हजार ८ सय ९० कारोबारबाट ११ लाख १ हजार २ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ४० करोड ७३ लाख ५२ हजार २ सय ४७ रुपैयाँको सेयर कारोबार भएको छ । बैंकिङ ८२, व्यापार ३३, विकास बैंक ५७, जलविद्युत ३३, फाइनान्स ४, निर्जीवन बीमा समूह ३२२, उत्पादन १०२, अन्य २०, माइक्रोफाइनान्स १०१, जीवन बीमा ५४८ अंकले बढेका छन्।

यस दिन पनि १ दर्जन कम्पनीका लगानीकर्ताले १० प्रतिशत नाफा कमाए। सिटिजन्स बैंक, साना किसान विकास बैंक, नागरिक लगानी कोष, नेशनल लाइफ इन्स्योरेन्स, आरएमडिसी लघुवित्त, बुटवल पावर, गुँरास लाइफ, शिखर इन्स्योरेन्स, मेरो माइक्रोफाइनान्स, सिद्धार्थ बैंकका लगानीकर्ताले १० प्रतिशत नाफा कमाएका हुन् ।