तेह्रथुम । तेह्रथुमको आठराई-५ छातेढुङ्गामा शुक्रबार भएको ट्याक्टर/ट्याङकर दुर्घटनामा परि दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा परि ५ जना घाइते भएका छन् ।
आठराई-४ ईवाका ५० वर्षीय ललित खवासको घटना स्थलमै मृत्यु भएको हो भने, गम्भीर घाइते भएका आठराई-४ ईवाका ४० वर्षीय श्याम मगरको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक शेषकराम थान्दारले बताउनुभयो ।
आठराई ह्वाकूका देवि अभिषेक डाँगी, आठराई ईवाका पदम खवास, कमल ईङनाम, शैलेस मग्रान्ती र युकेश बराईली दुर्घटना परि घाइते भएका छन् । चुहानडाँडाबाट संक्रान्तिबजार आउदै गरेको केजि निर्माण सेवाको मे १ त ६२१९ नम्बरको ट्याक्टर साँझ ६:३० मा दुर्घटना भएको हो ।
घाइतेहरूको पाँचथरको फिदिममा उपचार भईरहेको छ । फरार रहेका चालकको खोजी भईरहेको प्रहरीले जनाएको छ ।-हाम्रोसवाल