पाँचथरमा जीप दुर्घटना हुँदा गम्भीर घाइते तीन जनाको हेलिकोप्टरबाट उद्दार

  • प्रकाशित मिति : २०७७ असार २८, आईतवार
  • nepaltale.com

काठमाडौं। पाँचथरमा बोलेरो जीप दुर्घटनामा परी गम्भीर घाइते भएका तीन जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार गरिएको छ।

गम्भीर घाइते भएका २२ वर्षीय सरोज बस्नेत, ३६ वर्षीय रोजन्द्र कार्की र २६ वर्षीय टीका आचार्यको हेलिकोप्टरबाट उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) सिद्धराज न्यौपानेले बताए।

उद्दारपछि उनीहरूलाई उपचारका लागि नाेबेल अस्पताल बिराटनगर लगिएकाे छ।

आज (आइतबार) दिउँसो विरुवा कन्सट्रक्सनको बोलेरो जीप जिल्लाको कुम्मायक गाउँपालिकाको वडा नम्बर–३, रानीगाउँमा दुर्घटनामा परेको थियो।

निर्माणधिन तमोर कोरिडोरको काम हेरेर सदरमुकाम फिदिम फर्किने क्रममा जीप दुर्घटनामा परेको हो।

गम्भीर घाइतेहरूको उपचारका लागि भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङको पहल तथा विरुवा कन्सट्रक्सनका अध्यक्ष पेम्बा लामा शेर्पाको सहयोगमा उद्दार गरिएको हो।