गोंगबु हत्या प्रकरण : बोहाराको हत्यामा कल्पना बाहेक अरु पनि संलग्न थिए ?

  • प्रकाशित मिति : २०७७ श्रावण २९, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । प्रहरीले काठमाडौंको गोंगबुमा भएको विभत्स हत्या प्रकरणसँग जोडिएको आर्थिक पाटोमा पनि अनुसन्धान शुरु गरेको छ ।

मृतक कृष्णबहादुर बोहोरा र उनको हत्यामा संलग्नको आरोपमा पक्राउ परेकी कल्पना मुडभरी (पौडेल)बीच आर्थिक लेनदेनको विषयमा प्रहरीले अनुसन्धान शुरु गरेको हो ।



घटनाको अनुसन्धान गरिरहेको महानगरीय अपराध महाशाखाका एक अधिकारीका अनुसार मृतक कृष्ण र कल्पनाबीच आर्थिक लेनदेन भएको देखिएको छ । तर, रकम कति थियो भन्ने यकीन भने हुन सकेको छैन ।

‘बोहोराले आफ्नो ५० लाख रुपैयाँ फसेको छ । त्यसलाई जसरी पनि उठाउनु पर्छ भनेर आफन्तलाई भन्ने गरेको सूचना पनि हामीले पाएका छौं,’ अपराध महाशाखाका एक अधिकारीले भने, ‘हत्याको प्रमुख कारणमध्ये आर्थिक लेनदेन पनि हो कि भन्ने कोणबाट थप अनुसन्धान शुरु गरिएको छ ।’

यसअघि प्रहरीले पक्राउ परेकी कल्पनाको बयानका आधारमा अनुसन्धानलाई पूर्णता दिने तयारी गरेको थियो । तर, यसबीचमा बोहोराका केही आफन्तहरुले बोहोरा हत्याको कारण आर्थिक लेनदेन भएको र त्यसमा कल्पनाबाहेक अरु व्यक्ति पनि संलग्न हुन सक्ने बताए पछि प्रहरीले थप अनुसन्धान थालेको हो ।

प्रहरीका अनुसार शुरुमा कल्पनाले फेसबूकमा नक्कली आइडी बनाएर नाङ्गो फोटो राख्न थालेपछि बोहोराको हत्या गर्न बाध्य भएको बयान प्रहरीलाई दिएकी थिइन् । त्यसपछि छोरीमाथि पनि गलत दृष्टि लगाउन खोजेपछि हत्या गरेको बयान दिएकी थिइन् ।

‘अहिले अभियुक्त (कल्पना)को बयान स्टेबल छैन । कुनै एउटा कुरा स्पष्टसँग उनले भनिरहेकी छैनन्,’ अनुसन्धानमा संलग्न प्रहरी अधिकारी भन्छन्, ‘हामीले उनकै बयानलाई पूरै विश्वास गर्ने अवस्था नभएकाले थप अनुसन्धान गर्न थालिएको छ ।’

गत आइतबार बिहान काठमाडौंको टोखा नगरपालिका–१० गोंगबु (नवज्योति मार्ग)मा कालो रंगको सुटकेश भित्र खुटा र टाउको काटिएको एउटा पुरुषको शव फेला परेको थियो ।

प्रहरीले कुकुरको मद्दतले अनुसन्धान थाल्दा शव भेटिएको ठाउँभन्दा करिब ३ सय मिटर पूर्वतर्फ स्वर्गद्वारी मार्गको खाली जमिनमा एउटा झोला भित्र टाउको र खुट्टा भेटिएको थियो ।

शव भेटिएको दोस्रो दिन मात्रै मृतक व्यक्ति रोल्पाको रुन्तीगढी गाउँपालिका–७ स्थायी घर भएका ४५ वर्षीय कृष्णबहादुर बोहोरो भएको पत्ता लागेको थियो ।

प्रहरीले सोमबार नै चितवनको कालिका नगरपालिका–९ शक्तिखोरबाट ३७ वर्षीय कल्पना मुडभरी (पौडेल) र उनकी १५ वर्षीय छोरीलाई पक्राउ गरेको थियो ।

कल्पनाले बोहोराको हत्या आफूले नै गरेको बयानमा स्वीकारीसकेकी छन् । तर, हत्याको ‘मोटिभ’का सन्दर्भमा भने उनको बयान ‘स्टेबल’ नदेखिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु बताउँछन् ।

‘अभियुक्तको बयानका आधारमा हत्याको कारण यो नै हो भनेर भन्न सकिने अवस्था छैन । र, हत्यामा कल्पना एक्लैको मात्रै संलग्नता थियो वा अरु पनि संलग्न छन् भन्ने विषयमा पनि अनुसन्धान थालिएको छ,’ प्रहरी अधिकारीको भनाइ छ, ‘अभियुक्तले पनि मृतकबाट केही पैसा सापट लिएको बताएकी छन् । मृतकका आफन्तले भनेजस्तै ५० लाख रुपैयाँ लिएकी हुन् कि हैनन् भनेर स्पष्ट बयान आएको छैन ।’

कल्पनाले बोहोराबाट ५० लाख रुपैयाँ ऋण लिएपनि त्यो पैसा कहाँ खर्च गरिन् भन्ने पनि खुलेको छैन । कल्पनाले केही समयदेखि घरभाडा समेत तिरेकी छैनन् । उल्टै घरपेटीबाट पनि ऋण लिएको देखिएको प्रहरी अधिकारी बताउँछन् ।

प्रहरीका अनुसार कल्पनाका पति वैदेशिक रोजगारीका लागि विदेशमा छन् । पतिसँग पनि पैसाकै कारणले गर्दा केही विवाद भएको भन्ने पनि खुल्न आएको प्रहरी अधिकारी बताउँछन् ।

‘यो प्रकरणमा मृतक र अभियुक्तसँगै कोही तेस्रो पक्ष पनि छ कि भन्ने आशंका हो । अभियुक्तको बयान स्टेबल नहुँदा त्यो आशंका झन बलियो बन्दै गएको छ,’ प्रहरी अधिकारी भन्छन् ।