उपत्यकामा जारी निषेधाज्ञा पुनः १५ दिन थप्ने तयारी

  • Published Date : 2021-07-15
  • nepaltale.com

काठमाडौं। उपत्यकामा जारी निषेधाज्ञा पुनः १५ दिन थप्ने तयारी गरिएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमखु जिल्ला अधिकारीहरुको बैठक आज बस्न लागेको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले तीन जिल्लाका प्रजिअहरुको बैठक आज बस्ने तर समय भने तय भइनसकेको जानकारी दिए। दिउँसो १ बजेपछि बसिने बैठकमा लामो दूरीका यातायात पनि खोल्ने कि भन्ने विषयमा पनि छलफल गरिने उनले बताए।



छलफलचाहिँ लामो दूरीका यातायात खुला गर्ने विषयमा पनि गर्छाैं, तर १५ दिन अहिलेकै जस्तोगरी जाने सम्भावना बढी छ। उनका अनुसार लामो दूरीका यातायात खोल्ने कि नखोल्ने भन्ने विषयमा स्वास्थ्यकर्मी, ट्राफिक प्रहरीलगायत सरोकारवालासँग परामर्श गरिनेछ।

‘तर लामो दूरीका सवारीसाधन खोलिने सम्भावना म कम देख्छु’ उनले भने, ‘यो कुराचाहिँ बैठकमै गएपछि थाहा हुन्छ।’ ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले पनि अब १५ दिन निषेधाज्ञा थप्ने र लामो दूरीका यातायात पनि खुला गर्ने सरसल्लाह भइरहेको जानकारी दिए।

उपत्यकाभित्र भने सार्वजनिक यातायात यस अघिदेखि नै सञ्चालन भइरहेको छ। यसअघि थपिएको निषेधाज्ञाको अवधि आज (असार ३१ गते) राति १२ बजेबाट सकिँदै छ।

कोरोना महामारी नियन्त्रणका लागि भनेर काठमाडौं उपत्यकामा गत वैशाख १६ गते निषेधाज्ञा सुरु गरिएको थियो। पटकपटक अवधि थपेर यो लम्ब्याउने क्रम जारी छ। तर क्रमशः खुकुलो पारिएको छ। उपत्यकामा सवारी साधन, व्यापार व्यवसाय सञ्चालनमा आएका छन् भने शैक्षिक संस्था, फिल्म हल लगायत बन्द रहेका छन्।