यी नदीमा चार दिनसम्म छ बाढीको जोखिम (सूचीसहित)

  • Published Date : 2021-07-17
  • nepaltale.com

काठमाडौं। आजदेखि ५ गते मंगलबारसम्म देशका विभिन्न नदीमा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाकाली, कर्णाली, भेरी, तिनाउ, पश्चिम राप्ती, बबई लगायतमा बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह पार गर्ने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै, नारायणी र कोशीका सहायक नदीहरुमा बाढी सतर्कता आसपास पुग्ने पूर्वानुमान रहेकाले महाशाखाले जनाएको छ।



बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली र सहायक नदीहरुमा बहाव सामान्य रहेको तथा सबैमा सतर्कता तह भन्दा तलै रहेको छ। महाकाली, कर्णाली र यिनका सहायक नदीहरु भेरी, सेती तथा नारायणी र कोशीका सहायक नदीहरु कालीगण्डकी, बुढीगण्डकी, त्रिशुली, सुनकोशी, भोटेकोशी, तामाकोशी लगायतका नदीहरुमा बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता आसपास पुग्न सक्ने पूर्वानुमान रहेको महाशाखाले जनाएको छ।

त्यस्तै कन्काई, कमला, बागमती, पूर्वी राप्ती लगायतमा बहाव सामान्य घटबढ हुने तथा सबैमा सतर्कता तह भन्दा तलै रहने छ। तिनाउ, पश्चिम राप्ती, बबई जलाधारका सहायक नदीहरुमा बहाव बढ्ने र केहीमा सतर्कता आसपास पुग्न सक्ने पूर्वानुमान छ।

रिउखोला, आरूणखोला, बाणगंगा, मानखोला, कान्द्रा, मोहना, खुट्टिया, पथारिया, स्याउली, चौधर लगायत गण्डकी प्रदेशको गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, तनहुँ, स्याङजा, कास्की, म्याग्दी, पर्वत, बाग्लुङ, नवलपुर, लुम्बिनी प्रदेशको परासी, पाल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, रुपन्देही, कपिलबस्तु भई बहने साना नदीहरुमा बहाव बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ।

यस्तै, रोल्पा, रुकुम पूर्व, दाङ, बाँके, बर्दिया, कर्णाली प्रदेशको सुर्खेत, सल्यान, जाजरकोट, दैलेख, जुम्ला, कालिकोट, डोल्पा, सुदूरपश्चिम प्रदेशको दार्चुला, बझाङ, बैतडी, डडेल्धुरा, डोटी, अछाम, कैलाली, कंचनपुर र आसपासका जिल्ला भई बहने साना नदीहरुमा बहाव बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ।

प्रदेश १ को इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, संखुवासभा, ताप्लेजुङ, भोजपुर, प्रदेश २ को बारा, पर्सा, सर्लाही, महोत्तरी, सप्तरी, बागमती प्रदेशको दोलखा, रामेछाप, काठमाडौं, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, चितवन,मकवानपुर र आसपास जिल्ला भई बहने स–साना नदीहरुमा बहाव केही बढ्ने र केहीमा आकस्मिक बहाव हुन सक्ने पुर्वानुमान रहेको महाशाखाले जनाएको छ।