जोनसन खोप लगाएकी महिलाको मृत्यु, अनुसन्धान गर्न टोली खटियो

  • प्रकाशित मिति : २०७८ श्रावण ८, शुक्रबार
  • nepaltale.com

काठमाडौं। धादिङको नीलकण्ठ नगरपालिकामा अमेरिकाले नेपाललाई उपलव्ध गराएको कोरोनाविरुद्धको खोप लगाएकी उक महिलाको निधन भएको छ ।

जोन्सन एन्ड जोन्सन कम्पनीले निर्माण गरेको जोनसेन खोप लगाएका एक महिलाको निधन भएको हो । परिवार कल्याण महाशाखाअन्तर्गतको खोप शाखाका अनुसार खोप लगाएर घर फर्किएका ती महिलाको केही समयपछि मृत्यु भएको हो ।

यद्यपि, उनको खोप लगाएकै कारण वा अन्य कारणले मृत्यु भएको हो भन्ने चाहिँ अझै खुल्न सकेको छैन । यसबारे अध्ययन गर्न महाशाखाले एउटा टोली घटनास्थलमा पठाइसकेको छ ।

शाखाका प्रमुख डा. झलक शर्मा गौतमले भने, ‘खोप लगाएका एक वृद्धको मृत्यु भएको खबर आएको छ । तर, खोप लगाएर नै उनको मृत्यु भएको हो या होइन भन्ने अहिले भन्न सकिन्न । यसका लागि हामीले टोली घटनास्थलमा पठाइसकेका छौँ । टोलीले अध्ययन गरेपछि मात्र ठोस कुरा भन्न सकिन्छ ।’

एकपटक लगाए पुग्ने जोनसन खोपको १५ लाख भन्दा बढी मात्रा केहीदिन अघि अमेरिकाले नेपाललाई कोभयाक्स सुविधा अन्तरगत दिएको हो । यो खोप लगाएको २ हप्तापछि शरीरमा कोरोना भाइरसविरुद्ध एन्टिबडी तयार बताइन्छ । जोनसन खोपले दुर्लभ रूपमा रगत जम्ने वा स्नायु प्रणालीसम्बन्धी समस्या देखिएको छ ।