पशुपति क्षेत्रका अव्यवस्थित पसल हटाइँदै: के हट्छन् के हट्दैनन्

  • प्रकाशित मिति : २०७९ भाद्र २३, बिहीबार
  • नेपाल टेल

पशुपति क्षेत्र वरपर रहेका अव्यवस्थित पसल तथा संरचनाहरू हटाउन आज नगरप्रहरीसहित पुगेका जनप्रतिनिधिहरूले व्यापारीहरूलाई आग्रह गरेका छन् ।

केही समयअगाडि सूचना जारी गर्दै सो क्षेत्रमा भएका अव्यवस्थित पसलहरू हटाउन अनुरोध गरिएको थियो । आज वडाध्यक्ष आशामान संगत सहितको टोली पुगेर त्यहाँका व्यापारीहरूलाई पसल हटाउन अनुरोध गरेको हो ।

वडाध्यक्ष संगतले केटिएम दैनिकसँग भने, ‘सूचना केहीदिन अगाडि नै दिइएको हो । यो आतंक मच्चाए जस्तो गर्नुभन्दा सबैलाई आग्रह गरेर हटाउन मिल्ने हटाइदिनु भनेर हामी त्यहाँ पुगेका हौं ।’

अब पशुपति क्षेत्रका कुन कुन संरचनाहरू हटाउनुहुन्छ भन्ने प्रश्नमा वडाध्यक्ष संगतले भने “पशुपति भित्रका टहराहरू पशुपति विकास कोषले राख्न दिएको हो । त्यो हटाउँदैनौं । भुवनेश्वरी लगायत अन्य स्थानमा राखिएका पसल तथा अनधिकृत संरचनाहरू हटाइन्छ ।” खुल्ला ठाउँ ओगटेर पसल राख्नेहरूलाई त्यहाँबाट हटाइने छ ।”

२०५९ सालमा गुरुयोजना लागू गर्दै गर्दा पशुपति क्षेत्रमा घर हुनेहरूको घर विस्थापित भएको थियो कतिको पसल विस्‍थापित भएको थियो । उहाँहरूलाई विकास कोषले टहरा बनाएर एग्रिमेन्ट गरेर पसल राख्न दिएको भएर ती पसलहरू भने हट्दैनन् ।

फुटपाथमा राखेका पसलहरू भने आजैबाट हटाइएको छ ।