हिकाले अस्पतालकै बेडमा ६ लाख पाएपछि धरधरी रोए

  • प्रकाशित मिति : २०८० माघ ४, बिहीबार
  • नेपाल टेल संवाददाता

रकुम पूर्वका हिका विकले अस्पतालमै ६ लाख सहयोग पाएका छन् । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुको उपचार गराइरहेका हिकालाई रुकुम पूर्वकै शिखर विश्वकर्मा (मौसम) को पहलमा संकलित रकम अस्पतालनै पुगेर मंगलबार हस्तान्तरण गरिएको हो ।

अस्पतालमा भर्ना भएका हिका बेड नम्बर ३१६ मा अप्रेसनको प्रतीक्षामा बसिरहेका छन् ।



वाथ मुटुरोगको समस्याका कारण उनको मुटुको भल्ब प्रत्यारोपण गर्नुपर्ने भएको छ ।

तत्काल अप्रेसन गर्नुपर्ने देखिएको र रकम अभाव भएको थाहा पाएपछि सामाजिक सञ्जालमार्फत आव्हान गरी उक्त रकम संकलन गरिएको शिखरले जानकारी दिए ।

अप्रेसनका लागि करिब ४ लाख लाग्ने अस्पतालले जानकारी दिएको छ। अस्पतालको बेडमै रहेका हिका सहयोग रकम पाउँदा धरधरी रोए ।

सहयोग रकम हस्तान्तर गर्न पुगेका उनकै गाउँले पूर्वमन्त्री समेत रहेका दलजित श्रीपाली लगायतले विकलाई सान्त्वना दिएका छन् ।

देशविदेशमा रहेका सहयोगी व्यक्तिहरुबाट ५ दिनको बीचमा उक्त सहयोग संकलन गर्न सकेको शिखरको भनाइ छ । आफूलाई विश्वास गरेर हिकाको उपचारका लागि यति धेरै सहयोग गरिदिएकोमा शिखरले सबैलाई धन्यवाद दिएका छन् ।