काठमाडौं । काठमाडौंमा एक महिला विवाह भएको एक साता पनि नबित्दै वैवाहिक बलात्कारको उजुरी लिएर प्रहरीकहाँ पुगेकी छिन् ।
श्रीमान्ले आफूलाई मन लागेको बेला शारीरिक सम्पर्क राख्ने गरेको, नमान्दा कुटपिट गर्ने गरेकोलगायत आरोपसहित ती महिला कमला (परिवर्तित नाम) गत वैशाख १४ गते प्रहरीकहाँ पुगेकी हुन् । उनको वैशाख ७ गते बत्तिसपुतलीस्थित एक रेस्टुरेन्टमा विवाह भएको थियो ।
वैदेशिक रोजगारीका लागि जापानमा विगत १० वर्षदेखि बस्दै आएकी कमलाको यो दोस्रो विवाह हो । पारिवारिक चिनजान रहेका दीपक (परिवर्तित नाम) सँग प्रेम सम्बन्ध रहेपछि दुई महिनाअघि उनी विवाहका लागि नेपाल आएकी थिइन् । कमलाको पहिलो विवाह पनि प्रेम विवाह नै रहेको प्रहरी स्रोत बताउँछ ।
तर, जापानमै रहेका श्रीमान्सँग सम्बन्ध बिग्रिएपछि उनी दोस्रो विवाह गर्ने अवस्थामा पुगेकी थिइन् । दीपकको पनि यो दोस्रो विवाह थियो । १३ वर्षअघि विवाह गरेकी श्रीमतीसँग १० वर्षपछि सम्बन्ध विच्छेद भएपछि उनले कमलासँग नजिकिएर दोस्रो विवाह गरेका हुन् ।
नयाँ बानेश्वरमा बस्दै आएका दीपकले वैशाख १३ गते राति यौन सम्पर्क राख्न खोज्दा नमानेपछि विवाहमा दिएको सबै सुनका गरगहना खोसेको जाहेरवालाको दाबी छ । यता दीपकले त्यस दिन आफ्ना बुबासँग कमलाले ‘तपाईँको छोराको अन्य केटीहरूसँग सम्बन्ध रहेछ’ भनेको र त्यो कुरा आफूले थाहा पाएपछि दुईजनाबीच सामान्य विवाद भएको प्रहरीसँगको बयानमा उल्लेख गरेका छन् ।
आफूले सम्झाउन कोठामा लैजाँदा कमला लड्न पुगेको पनि उनको दाबी छ । कोठामा पुगेपछि स्थिति सामान्य भएको र बिहान कमलालाई उनको दिदीले बालकोटस्थित घर कुर्न बोलाएकाले आफूले पुर्याइदिएको पनि बयानमा बताएका छन् । यता जाहेरवालाकी दिदीले विवाहको दुई दिनमै श्रीमानले दाइजो र विवाह भोजको रकम मागेको भनेर आफूलाई कमलाले फोनमा भनेको बताएकी छिन् ।
दीपकविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर भएको छ । उनलाई ५ वर्ष कैद सजाय गर्न माग गरिएको छ ।