काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिका–११ स्थित एकता बस्तीबाट प्रहरीले १३ जना जुवाडेहरूलाई पक्राउ गरेको छ । प्रहरी प्रभाग बलम्बुको टोलीले बिहीबार ४२ वर्षीय साइला गोलेले भाडामा लिएको कोठामा सञ्चालित जुवा खालबाट आरोपीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जुवा खाल सञ्चालक मकवानपुर घर भएका साइला गोले, चन्द्रागिरी घर भएका राज कुमार तामाङ, मकवानपुरका धन बहादुर गोले, सन्तोष तामाङ, बेलबहादुर मोक्तान, आइते सिंह लो, सोम लामा र चन्द्रागिरी घर भएका अमृत श्रेष्ठ सहित छन् । त्यस्तै प्रहरीले चन्द्रागिरीका कुमार बोम्जन, विष्णु दास श्रेष्ठ र गोरखा घर भएका अम्मरलाल श्रेष्ठ र ललितमान श्रेष्ठलाई पक्राउ गरेको छ ।
जुवा खालबाट १ लाख २८ हजार नगद र ३ बुक तास बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिए । उनीहरू विरुद्ध जिल्ला प्रशासन कार्यालयबाट ४ दिनको म्याद लिएर प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ ।