बाढीले कञ्चनपुरमा ४५ घर डुबानमा, महाकालीको जलस्तर बढ्यो

  • प्रकाशित मिति : २०८२ भाद्र १६, सोमबार
  • नेपाल टेल संवाददाता

कञ्चनपुर । आइतबार रातिदेखिको अविरल वर्षाका कारण कञ्चनपुरमा ४५ घर डुबानमा परेका छन् ।

यहाँको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका नदीमा आएको बाढी बस्तीमा पस्दा ४५ घर डुबानमा परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले दोधारा चाँदनी नगरपालिका–८ स्थित रामपुरे टोल र जर्गा टोलमा जोगबुढा नदीको बाढी पस्दा २५ घर डुबानमा परेको बताए ।



त्यसैगरी दोधारा चाँदनी नगरपालिका–३ स्थित पटराखल्लाका १५ घर डुबावनमा परेका छन् । उनका अनुसार भीमदत्त नगरपालिका–११ स्थित भुजेलामा पनि पाँच घर डुबानमा परेका छन् । “दोधारा चाँदनीमा जोडबुढा नदी बस्तीमा पस्दा २५ घर डुबानमा पर्दा ७० जना विस्तापित भएका छन्, उहाँहरूलाई नजिककैको विद्यालयमा राखिएको छ ।” उनले भने, “डुबानमा परेका परिवार र चौपायालाई सुरक्षित स्थानमा सारिएको छ ।”

दोधारा चाँदनी नगरपालिका–३ पटराखल्लाका घरपरिवारका ५५ जना, उनका सरसामान र चौपायासमेत नजिककैको जमुना आधारभूत विद्यालयमा राखिएको उनले बताए ।