उपचारपछि देउवा दम्पती आज स्वदेश फर्किंदै, राति ९:३० मा काठमाडौँ अवतरण गर्ने

  • प्रकाशित मिति : २०८२ कार्तिक २८, शुक्रबार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवा आज स्वदेश फर्किन लागेका छन्। कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार देउवा दम्पती आज साँझ काठमाडौँ फर्किने निश्चित भएको हो। महतले भने, “आज साँझ उहाँहरू स्वदेश आउँदै हुनुहुन्छ।”

विमानस्थल स्रोतका अनुसार देउवा दम्पती सिंगापुर एयरलाइन्सको उडानमार्फत बेलुका ९:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका रहेको छ।



देउवा दम्पती कात्तिक १० गते उपचारका लागि सिंगापुर प्रस्थान गरेका थिए। गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा उनीहरू बूढानीलकण्ठस्थित आफ्नै निवासमा आन्दोलनकारीहरूको आक्रमणमा परेका थिए।

आक्रमणमा कांग्रेस सभापति देउवा गम्भीर घाइते बनेका थिए। टाउकाको पछिल्लो भागमा लागेको चोटका कारण १२ वटा टाँका लगाउनु परेको कांग्रेस नेताहरूले बताएका थिए।

देउवाले उपचारका लागि सिंगापुर जानुअघि पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक जिम्मेवारी दिएका थिए। साथै, सिंगापुर गँदा देउवा दम्पतीले भीआईपी कक्ष प्रयोग नगरेको स्रोतहरू बताउँछन्।