एनपीएल सिजन–२ का सर्वोत्कृष्ट खेलाडी रुवेन ट्रम्पलम्यान, पुरस्कारमा लुम्बिनीका खेलाडीहरूको वर्चस्व

  • प्रकाशित मिति : २०८२ मंसिर २८, आईतवार
  • नेपाल टेल संवाददाता

लुम्बिनी लायन्सका रुवेन ट्रम्पलम्यान नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ का सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। लुम्बिनीलाई च्याम्पियन बनाउन निर्णायक भूमिका खेलेका ट्रम्पलम्यानले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेपछि यो सम्मान हात पारेका हुन्।

रुवेनले एनपीएल सिजन–२ मा कुल १५ विकेट लिनुका साथै ब्याटिङतर्फ ६५ रनसमेत जोडे। अलराउन्ड प्रदर्शनका कारण उनी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए र पुरस्कारस्वरूप नगद ५ लाख रुपैयाँ प्राप्त गरे।



लुम्बिनी लायन्सकै कप्तान रोहित पौडेल उत्कृष्ट ब्याटर घोषित भए। रोहितले प्रतियोगिताका १० खेलमा २७६ रन बनाउँदै सर्वाधिक रन बनाउने नेपाली खेलाडीको कीर्तिमानसमेत बनाए। कप्तानको रूपमा टोलीलाई उपाधि दिलाउनुका साथै व्यक्तिगत प्रदर्शनका आधारमा उनी चम्किएका हुन्।

बलिङतर्फ विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने उत्कृष्ट बलर घोषित भए। उनले प्रतियोगिताभर १७ विकेट लिए। त्यस्तै, लुम्बिनीका शेर मल्ल उत्कृष्ट उदीयमान (इमर्जिङ) खेलाडी घोषित भए। शेरले पनि सिजनभर १७ विकेट लिँदै भविष्यका लागि आशा जगाएका छन्।

उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उत्कृष्ट उदीयमान खेलाडी बनेका रोहित पौडेल, सन्दीप लामिछाने र शेर मल्लले पुरस्कारस्वरूप पल्सर मोटरसाइकल प्राप्त गरेका छन्।

यसैगरी, लुम्बिनीका कप्तान रोहित पौडेल सर्वोत्कृष्ट नेपाली खेलाडी पनि घोषित भएका छन्। उनले ब्याटिङतर्फ २७६ रन र बलिङतर्फ १० विकेट लिँदै उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका थिए। सर्वोत्कृष्ट नेपाली खेलाडी बनेबापत रोहितले कार पुरस्कारसमेत जितेका छन्।

एनपीएल सिजन–२ मा लुम्बिनी लायन्सले उपाधि जित्नुका साथै व्यक्तिगत पुरस्कारमा पनि वर्चस्व जमाउँदै प्रतियोगितालाई स्मरणीय बनाएको छ।