नेपाली कांग्रेसको १५औं महाधिवेशन अनिश्चित बन्दै जाँदा पार्टीभित्रको आन्तरिक विवाद तीव्र बनेको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवा तथा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सहमतिविना विशेष महाधिवेशनको प्रक्रिया अघि बढाएपछि विवाद उत्कर्षमा पुगेको हो।
महामन्त्रीद्वयले औपचारिक रूपमा विशेष महाधिवेशन आह्वान गरेसँगै कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन आग्रह गरिएको छ।
हिजो सार्वजनिक सूचनामार्फत महामन्त्री थापा र शर्माले पुस २६ देखि २८ गतेसम्म तय गरिएको नियमित महाधिवेशन स्थगित भएको जानकारी दिएका छन्। संस्थापन पक्ष तयार नभए पनि पुस २७ देखि २९ गतेसम्म विशेष महाधिवेशन गर्ने निर्णयसहित सूचना जारी गरिएको हो।
सूचनाअनुसार महाधिवेशनको मिति तय भइसकेपछि क्रियाशील सदस्यता नवीकरण अन्तिम चरणमा पुगेको छ। हालसम्म पाँच लाख ७ हजार ३ सय ९५ क्रियाशील सदस्यता नवीकरण सम्पन्न भइसकेको जनाइएको छ। बाँकी रहेका खोटाङ, बारा, कञ्चनपुर र कैलाली जिल्लामा नवीकरण प्रक्रिया टुङ्गिएपछि कुल नवीकरण संख्या करिब ६ लाखभन्दा बढी पुग्ने अनुमान गरिएको छ।
यस अवधिमा एक लाख ९५ हजार ७ सय ३७ नयाँ क्रियाशील सदस्यता इन्ट्री भइसकेको छ भने अन्य जिल्ला तथा जनसम्पर्क समितिबाट पनि नयाँ सदस्यता इन्ट्रीको काम निरन्तर भइरहेको विज्ञप्तिमा उल्लेख छ। नियमित महाधिवेशन तथा यससँग सम्बन्धित अन्य कार्यतालिका स्थगित भए पनि नयाँ क्रियाशील सदस्यता इन्ट्रीको काम निरन्तर जारी राख्न सबै तहलाई निर्देशन दिइएको छ।
महामन्त्रीद्वय थापा र शर्माले केन्द्रीय कार्यालयमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित दर्ता गरिएको विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्ने पहिलो विकल्प नियमित महाधिवेशन नै भएको बताएका छन्। तर निर्धारित समयमा नियमित महाधिवेशन सम्पन्न हुन नसक्ने अवस्था बनेपछि विकल्पका रूपमा फेरि विशेष महाधिवेशन अघि सारिएको उनीहरूको भनाइ छ।