साँगामा निर्माणाधीन १ किमि लामो अन्डरपासको कस्तो छ अवस्था ?

  • प्रकाशित मिति : २०८२ माघ ११, आईतवार
  • नेपाल टेल संवाददाता

भक्तपुर र काभ्रेको सीमा क्षेत्र साँगामा दुई लेनको अन्डरपास निर्माण कार्य भइरहेको छ । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाले निर्माण गरिरहेको अन्डरपासको कुल लम्बाइ १ हजार ११० मिटर रहेको छ ।

अन्डरपासमा बनेपातर्फ १९० मिटर र भक्तपुरतर्फ ९०० मिटर एप्रोच सडक समावेश गरिएको छ । यसको उचाइ ६ मिटर र चौडाइ १०.५ मिटर रहनेछ । साथै अन्डरपासभित्रै २० मिटरको पुल पनि निर्माण गरिने सब–इन्जिनियर ज्ञानमान श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार हालसम्म अन्डरपास निर्माणको करिब ४५ प्रतिशत काम सम्पन्न भइसकेको छ । अहिले फाउन्डेसन तथा सुपरस्ट्रक्चर निर्माणको काम भइरहेको छ ।



कुल १५.८ किलोमिटर लामो सूर्यविनायक–धुलिखेल सडकलाई दुई खण्डमा विभाजन गरी स्तरोन्नतिको काम भइरहेको छ । जसअन्तर्गत साँगा–धुलिखेल (८.३ किमि) र सूर्यविनायक–साँगा (७.५ किमि) सडकखण्डलाई छुट्टाछुट्टै ठेक्कामा विस्तार गरिएको हो ।

आयोजनाकी सूचना अधिकारी इन्जिनियर अञ्जु परियारका अनुसार हालसम्म सूर्यविनायक–साँगा सडकखण्डको भौतिक प्रगति ४३ प्रतिशत पुगेको छ । सूर्यविनायक–धुलिखेल सडक आयोजनाको ठेक्का सम्झौता २०७९ पुस २४ गते भएको थियो ।

सडक विस्तारका लागि ७.५ किलोमिटर लामो सूर्यविनायक–साँगा सडकखण्ड तीन अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा र ८.४ किलोमिटर लामो साँगा–धुलिखेल सडकखण्ड चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको हो ।

यस आयोजनाको प्रारम्भिक सम्झौता अवधि ०८० पुस २३ गतेसम्म रहेको भए पनि निर्माण अवधि थप गरी ०८३ फागुन मसान्तसम्म पुर्‍याइएको छ ।

तस्बिरहरू : बिजेन अमात्य / नेपाल फोटो लाइब्रेरी