लकडाउनका बेला ‘मलाई दुर्व्यवहार गर्ने व्यक्ति मसँगै छ’

  • प्रकाशित मिति : २०७७ बैशाख ८, सोमबार
  • nepaltale.com

काठमाडाैं । विश्वका धेरै मुलुकमा कोरोनाभाइरसको सङ्क्रमण फैलिन नदिन लकडाउन गरिएका बेला घरेलु हिंसा सहन बाध्य भएकाहरू महामारीको अदृश्य पीडित हुन सक्ने चेतावनी दिइएको छ। इङ्ग्ल्यान्ड र वेल्समा घरेलु हिंसासम्बन्धी मामिला हेर्ने आयुक्तका अनुसार दुर्व्यवहारका घटनाका लागि निर्धारण गरिएको हटलाइनमा सप्ताहान्तमा फोन आउने क्रम ६५ प्रतिशतले बढेको छ।

यसैबीच, गरिब राष्ट्रका महिलाहरूको घरेलु हिंसाको उजुरी गर्ने विकल्पहरू कम हुन सक्ने संयुक्त राष्ट्रसङ्घले बताएको छ। आफूलाई दुर्व्यवहार गरेका पुरुषहरूसँग लकडाउनका बेला बसिरहेको बताउने दुई महिलासँग बीबीसीले कुराकानी गरेको छ।

गीता, भारत
यो अन्तर्वार्ता भारतले कोरोनाभाइरस फैलिन नदिनका लागि २१ दिन लामो लकडाउनको घोषणा गर्नु एक दिनअघि लिइएको हो। गीता ५ बजे उठ्छिन्। उनका पति नजिकै सुतिरहेका छन् र ठूलो आवाज निकालेर घुरिरहेका छन्।

अघिल्लो रात उनी मातिएर आएका थिए र उदास देखिन्थे। कोरोनाभाइरसका कारण निकै कम मानिसहरूले सार्वजनिक सवारीसाधन प्रयोग गरिरहेका थिए जसले उनलाई पनि प्रभाव पारेको थियो।

अटो चलाउने विजयको आम्दानी प्रतिदिन करिब २,४०० नेपाली रुपैयाँबाट घटेर १,१२० रुपैयाँमा झरेको थियो। “यस्तो अवस्था कहिलेसम्म?” मदिराको बोतल भित्तामा बजार्दै उनले भनेका थिए। गीताका बालबच्चा आमाको पछाडि लुक्छन्।

लगत्तै पूरै परिवार सुत्नका लागि प्रयोग हुने ‘म्याट्रेस’ मा विजय ढल्छन् र केही समयमै निदाउँछन्। “बच्चाहरूलाई शान्त पार्न केही समय लाग्यो,” गीताले भनिन्।
“उनीहरूले आफ्ना बाबु रिसाएको धेरै पटक देखेका छन् तर पछिल्ला केही हप्ताहरूमा भने उनको रिस निकै नराम्रो हुँदै गएको छ। उनले भित्तामा विभिन्न कुराहरू बजारेको र मेरो कपाल समातेर तानेको देखेका छन्।”

गीताका श्रीमानले उनलाई धेरै पटक पिटेका छन्। यति धेरै पटक कि उनी स्मरण समेत गर्न सक्दिनन्। लगत्तै पुरै परिवार सुत्नका लागि प्रयोग हुने ‘म्याट्रेस’ मा विजय ढल्छन् र केही समयमै निदाउँछन्।

“बच्चाहरूलाई शान्त पार्न केही समय लाग्यो,” गीताले भनिन्। “उनीहरूले आफ्ना बाबु रिसाएको धेरैपटक देखेका छन्, तर पछिल्ला केही हप्तामा भने उनको रिस निकै नराम्रो हुँदै गएको छ। उनले भित्तामा विभिन्न कुराहरू बजारेको र मेरो कपाल समातेर तानेको देखेका छन्।”

गीताका श्रीमान्‌ले उनलाई धेरै पटक पिटेका छन्। यति धेरै पटक कि उनी स्मरण समेत गर्न सक्दिनन्। “तर विद्यालय बन्द भएपछि परिस्थिति फेरिएको छ,” उनी भन्छिन्। “बच्चाहरू घरमै बस्न थाले र उनीहरूले विजयलाई रिस उठाउन थाले।”

“प्राय: उनले आफ्नो रिस मेरा लागि राख्ने गर्छन्, तर अहिले उनी ससाना कुरामा रिसाउन थालेका छन्। त्यसपछि म आफूतिर ध्यान केन्द्रित होस् भनेर केही बोल्छु। तर हामी जति धेरै सँगै रहन्छौँ। उनको ध्यान कसरी मोड्ने भन्ने कुराबारे म झन् कम सोच्न सक्ने अवस्थामा पुग्छु।”

गीता आर्थिक रूपमा स्वतन्त्र बन्न चाहन्छिन् र आफ्ना बच्चासहित श्रीमान्‌बाट अलग्गिन चाहन्छिन्। त्यसका लागि उनी गोप्य रूपमा केही कक्षाहरूमा पनि सहभागी हुन्छिन् जसमा सिलाइबुनाइका साथै पढ्न र लेख्न सिकाइन्छ।

तर गत मार्च २४ तारिखमा सुरु भएको २१ दिन लामो लकडाउनले त्यसमा विराम लगाइदिएको छ। कक्षा समाप्त भएको छ र परामर्शदाताहरूका लागि कमजोर अवस्थामा रहेका महिलाहरूसँग भेट गर्न सहज छैन।

राजस्थानस्थित जोधपुर सहरमा महिलाहरूलाई सहयोग गर्न संस्था साम्भाली ट्रस्टका स्वयंसेवक विमलेस सोलाङ्कीका अनुसार कोरोनाभाइरसले महिलाहरूलाई जोखिममा पारेको छ।

काई, न्यूयोर्क, अमेरिका
काईले फोन निकालिन् र बिस्तारै टाइप गर्न सुरु गरिन्। “म तिमीसँग बसुँ भन्ने आमाको चाहना छ।” उनले त्यो सन्देश पठाउन गर्ने बटन दबाइन्। छिट्टै जवाफ आयो: “ठिक छ।” गत साता काई आफ्नो घर फर्किइन्। त्यो घर जहाँ उनले कहिल्यै नफर्कने वाचा गरेकी थिइन्।

उनी आफ्ना पिताको घरमा फर्केकी थिइन् जसले वर्षौँसम्म उनलाई शारीरिक हिंसा र शोषण गरेका थिए। आफ्नो पिताले यौनजन्य हिंसा समेत गर्ने गरेको काई बताउँछिन्। दुई हप्ता पहिलेसम्म केही समयमा कोरोनाभाइरस हराउने छ भन्ने उनको सोच थियो। तर परिस्थिति बदलियो।

उनकी आमा काम गर्ने पसलका जागिरेहरू बेचैन हुँदै गएका थिए। कोरोनाभाइरस १७० भन्दा बढी मुलुकमा फैलिसकेको थियो र न्यूयोर्कमा पनि उक्त भाइरस देखापरेको खबरले सर्वसाधारणहरूलाई व्याकुल बनाएको थियो। पसलमा काम गर्नुको अर्थ हरेक दिनजसो ग्राहकहरूसँग अन्तरक्रिया गर्नु हो।

काईकी आमा र उनका सहकर्मीहरू ग्राहकहरूसँगको सम्पर्कबारे चिन्तित थिए, तर त्यस्तो अवस्था लामो समयसम्म रहेन। उक्त पसल अनिश्चितकालका लागि बन्द भयो र कर्मचारीहरू हटायो। काईकी आमाले प्रतिघण्टा १५ अमेरिकी डलर कमाउने जागिर गुमाइन्। उनको स्वास्थ्य बिमा पनि पाँच दिन मात्रै रहने बताइयो।
र यसले मानसिक स्वास्थ्यसम्बन्धी चुनौतीको सामना गरेकी काईकी आमामा प्रभाव पार्न थाल्यो। “यहाँको अवस्था नराम्रो छ। तिमी आफ्ना पिताको घर जानुपर्छ,” उनकी आमाले चिच्याउँदै भनेको काईले बताइन्।

आमाका ती शब्दहरूले काईको मन चिस्यायो। केही समयमा ती कुरा हराउनेछन् भन्ने आशाका साथ उनी आफ्नो कोठामा फर्किइन्। तर जब उनी तल झरिन्। आमाले “तिमी अझै पनि यहाँ किन छौ” भनिन्।

वर्षौँसम्म पिताले गरेको शारीरिक तथा यौन दुर्व्यवहारका कारण काईले केही महिनाअघि बाट मात्रै थेरापी सुरु गरेकी थिइन्। सानो उमेर देखिनै आफूमाथि दुर्व्यवहार हुन सुरु भएको उनी बताउँछिन्। आफूमाथि भएको दुर्व्यवहारको पूर्ण विवरण हालसम्म उनले आफ्नी आमा र दिदीसँग छलफल गरेकी छैनन्।

काईका अनुसार थेरापीले उनलाई राम्रो प्रभाव पारिरहेको थियो। उनी भविष्यबारे आशावादी हुन थालेकी थिइन्। थेरापीका लागि उनी जाने स्थान कोरोनाभाइरसका कारण बन्द भएको घोषणा भयो। र, गत हप्ता उनी पिताको घर फर्किन्।

“उनी पूरा समय यही हुन्छन्,” उनले सानो स्वरमा भनिन्। “दिउँसो उनी टेलिभिजन हेर्छन्। रातको समयमा उनले अश्लील चलचित्रको हेरिरहेको आवाज सुनिन्छ।” बिहान आफ्ना लागि पेय पदार्थ बनाउँदै गर्दाको चर्को आवाजले उनी उठेको काईले थाहा पाउँछिन्।

तस्वीर कपीराइटJAMES MOBBS/BBC
घर फर्केयता उनलाई निन्द्रा परेको छैन। उनको कोठाको ढोकामा चुकुल पनि छैन।

काईले आफ्ना पितालाई रिस उठाउने कार्य गर्दा मात्रै उनीमाथि दुर्व्यवहार हुने गरेको थियो। त्यसकारण उनी सकेसम्म उनीबाट टाढै बस्न चाहन्छिन् र केही खानका लागि भान्सा वा शौचालय जानका लागि मात्रै कोठा बाहिर निस्कन्छिन्।

पछिल्लो पटक उनीहरू घरमा हुँदा बत्ती गएको थियो र त्यसबेला उनीमाथि भएको दुर्व्यवहार निकै नराम्रो थियो। काई पुरा दिन अनलाइनमै बिताउँछिन्। छिट्टै आफूलाई लिन आमा आउने वा कोरोनाभाइरसको सङ्क्रमण फैलन रोकिने र आफूले बस्ने अर्कै कुनै ठाउँ भेट्टाउने उनको विश्वास छ।

अनुगमन
युएन वुमनकी कार्यकारी निर्देशक पुम्जीले मलामबोह-नुखाका अनुसार असुरक्षित महिलाहरूको हकहितका विषयमा काम गर्नेहरूलाई तत्काल व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) दिइनुपर्ने अवस्था छ।

“हामीलाई विभिन्न स्थानमा खटिने कर्मचारीहरूका लागि पीपीई खरिद गर्न लगानीको आवश्यकता छ जसले गर्दा उनीहरू विभिन्न स्थानमा पुगेर असुरक्षित महिलाहरूको अवस्था बुझ्न सकून्। यसलाई प्राथमिकतामा राख्नुपर्छ।”

अमेरिका र यूकेजस्ता मुलुकमा हिंसाका घटना रिपोर्ट गर्नका लागि निर्धारित टेलिफोनमा फोन आउने क्रम बढेको भए पनि विकासशील मुलुकहरूमा भने त्यसविपरीत अवस्था हुन सक्ने उनले बताइन्।

“कमजोर आर्थिक, सामाजिक पृष्ठभूमि भएका महिलाहरूका लागि घरेलु हिंसाका घटनाबारे खबर गर्न असम्भव छ किनकि उनीहरू आफूलाई शोषण गर्ने व्यक्तिसँग एक वा दुई कोठे घरमा बसेका हुन्छन्।” “पश्चिम अफ्रिकामा इबोला प्रकोपको महिनौँपछि हामीले घरघरमा लैङ्गिक हिंसाका घटना बढेकोबारे थाहा पाएका थियौँ।”

(दुवै महिलाको नाम परिवर्तन गरिएको छ।)
बीबीसी