सर्वोच्च अदालत का बरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल आजदेखि कायम मुकायम (कामु) प्रधानन्यायाधीश बनेकी छन् ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत ६५ वर्षे उमेरहदका कारण मंगलबार अवकाश पाएपछि बरिष्ठतम न्यायाधीश मल्लले स्वतः कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी हुन् । नेपालको संविधानको धारा १२९(९) अनुसार प्रधानन्यायाधीशको पद रिक्त भएमा बरिष्ठतम न्यायाधीशले उक्त जिम्मेवारी सम्हाल्ने व्यवस्था छ ।
यसबीच नयाँ प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया भने अन्योलमा परेको छ । संवैधानिक परिषद् अपूर्ण रहेकाले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस हुन सकेको छैन । सभामुख, उपसभामुख र प्रमुख विपक्षी दलको नेता पद रिक्त हुँदा परिषद् निष्क्रिय बनेको हो ।
यसअघि न्याय परिषद ले प्रधानन्यायाधीशका लागि योग्य ६ न्यायाधीशको सूची संवैधानिक परिषद मा पठाइसकेको छ, जसमा सपना प्रधान मल्लसहित अन्य न्यायाधीशहरू समावेश छन् ।
संविधानअनुसार नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को सिफारिस, संसदीय सुनुवाइ र राष्ट्रपतिबाट नियुक्ति आवश्यक पर्छ । तर संसद् र परिषद् पूर्णता नपाउँदा यो प्रक्रिया कम्तीमा एक महिना लम्बिने देखिएको छ ।