काठमाडौं । कुनै पनि विमान उडेपछि आफ्नो गन्तब्यमा पुग्छ । निश्चित सेड्युल अनुसार पुनः विमानस्थलमा अवतरण हुन्छ । तर आज बिहानैदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अचम्म लाग्दो दृष्य देखियो ।
एउटै विमान छिनमै उड्ने र छिनमै बसेको दृष्य देखियो । यो दृष्य सर्वसाधारणलाई अनौठो लाग्नु स्वभाविकै हो । यो अचम्म लाग्दो दृष्यले धेरैको ध्यान खिच्यो ।
नेपालको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तो किन भइरहेको छ ? कुनै आपतविपत पो आइलाग्यो कि ? यस्ता थुप्रै शंकाहरु उब्जिए । तर वास्तविकता अर्कै रहेछ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले जानकारी दिए अनुसार पाइलटले हवाईजहाज उडान र अवतरणको अभ्यास गरिरहेकाले यस्तो दृष्य देखिएको हो ।
आज बिहानैदेखि हिमालय एयरलाइन्सले आकाश खालि भएको मौका छोपी आफ्ना पाइलटहरुलाई अभ्यास गराइरहेको छ । त्यही कारण हिमालय एयरलाइन्सको हवाईजहाज विमानस्थलबाट उड्छ । एकछिन आकाशमा फन्को मार्छ । अनि अवतरण गर्छ । अनि पुनः केहीबेरमै उड्छ ।