कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित

  • प्रकाशित मिति : २०८२ मंसिर ४, बिहीबार
  • नेपाल टेल संवाददाता

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आज (बिहीबार) का लागि बोलाइएको बैठक शनिबारसम्मका लागि सारिएको छ। अब बैठक शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा बस्नेछ।

यसअघि कांग्रेसले ३० कात्तिकमा सूचना जारी गर्दै १ मंसिरमा बस्ने भनेर तय भएको बैठक स्थगित गरी आज (बिहीबार) को लागि बोलाएको थियो। तर सर्वाेपरि तयारी नपुगेपछि बैठक फेरि सारिएको पौडेलले जानकारी दिए।

पछिल्लो समय कांग्रेसभित्र आन्तरिक समीक्षादेखि आगामी निर्वाचन, संगठनात्मक संरचना र राजनीतिक घटनाक्रमका विषयमा गहन छलफल आवश्यक रहेको भन्दै बैठकको अपेक्षा बढेको छ। तर पटक–पटक बैठक सारिँदा धेरै नेताले असन्तुष्टि जनाउँदै आएका छन्।